Saturday, December 7, 2013

कविको बयान






किशमा किशोर

हो श्रीमान् !
चरम उत्तेजनाको भार थाम्नै सकिन
मैले निरीह शब्दमाथि पटक–पटक बलात्कार गरें
म स्वीकार गर्छु
सम्माननीय इजलासको सजायँ ।
यौवनकै आवेगमा हो श्रीमान्
अक्षरहरुका बस्तीबाट
एउटी कुमारी शब्दलाई अपहरण गरे
अनि, कवितामा सौन्दर्यमा भरें
हो श्रीमान्, मैले
निरीह शब्दको चोक्टा लुछेर कुरुप पारें
म स्वीकार्छु
सम्माननीय इजलासको सजायँ ।
श्रीमान्
यो कठघराको चौघेराबाट
एउटा विन्ति विसाउँछु
हो, मैले नाकाम गरे
थाहा छ, अचेल
गाउँमा हाट लाग्न थालेको छ
गाउँका कुमारी शब्दहरुमाथि
कैयौं कविको आँखा गढेको छ
म, अभियुक्तको
एउटै माग छ
अब शब्दहरु बलात्कृत नहोऊन्
श्रीमान्, यदि
न्यायालयको मानहानी हुदैन भने
यो न्यायमुर्तिका हरेक अंग–अंगमा
बलात्कारको अभियोग लागेको कविले
कालो धब्बा देखिरहेको छ,
हो, श्रीमान् !
जीवनको रङ नजान्दै मैले
उत्तेजनाको उभार थपिदैं जाँदा
म कुमारी शब्दमाथि
पटक–पटक स्खलित भएको छु
म स्वीकार गर्छु
सम्माननीय इजलासको सजायँ ।
तर, न्यायमुर्तिका बन्द आँखाले
कवितामाथि प्रश्नचिन्ह राखेर
के बलात्कारमा रंगेहात देख्यो र ?

No comments:

Post a Comment