Tuesday, February 18, 2014

जन्मभूमिलाई उपहार; ‘सिन्धु–गीत’

संयौ सपुतलाई जन्म दिने हाम्री आमा.... सिन्धुपाल्चोक
जलस्रोत पर्यटन कृषि र व्यापारको अपार सम्भावना सिन्धुपाल्चोक
सञ्चारकर्मी रेवती सापकोटाको शब्द रहेको यो गीत अहिले सिन्धु मनहरुको ओठमा झुण्डिएको छ । जिल्लाको सौन्दर्य झल्कने यो गीतका गायक स्रष्टा चेतन सापकोटा पनि गीतसँगै सिन्धुमाझ लोकप्रिय बने । जिल्लाको बतासे गाविस जर्केबारीमा ३७ वर्षअघि जन्मिएका सापकोटा अहिलेका नेपाली संगीत मनमा छाएका युवा हुन् ।
नेपाली संगीत क्षेत्रमा चेतनको बढ्दो उचाईं सिन्धुवासीका लागि गौरव हो । आफू नेपाली संगीतको क्षेत्रमा जति नै उचाईंमा पुगेपनि सिन्धुका लागि वचन मात्र होईन कर्मले पनि ‘केही’ गर्ने प्रतिबद्धता जनाउने सापकोटाले वास्तवमै सिन्धुपाल्चोकका लागि भनेका मात्र गरेका पनि छन् ।
माथि प्रस्तुत गीति अंश उनैले संगीत भरेका र गाएका हुन् । जुन अहिले सिन्धुवासीको मन–मनमा रहेको छ । २०६८ मंसिरमा भएको सिन्धुपाल्चोक महोत्सवको सन्दर्भलाई लिएर गाइएको यो गीत उनी सिन्धुपाल्चोकलाई उपहार दिएको बताउँछन् । ‘सिन्धुभूमिकै पाखाबाट मैले गीत सिकें, यहाँसम्म आइपुगे,’ उनी भन्छन्, ‘धेरै वर्षअघिदेखि जिल्लालाई केही दिउँला भन्ने थियो, यही गीत दिएँ ।’ हतारको बेला तीन दिनमै तयारी पूरा गरेको यो गीतले यति उचाईं पु¥याउँछ भन्ने उनर्ला थिएन । शब्द र संगीत उत्कृष्ट भएकाले सिन्धुवासीको ओठमा यो गीत झुण्डिएको भने उनी स्वीकार्छन् । ‘यो गीतसँगै म आफै सफलताको सिढीं चढ्नुमा जिल्लावासीको ठूलो भूमिका छ,’ उनी गर्वसाथ भन्छन्, ‘गीतमा जिल्लाको सौन्दर्य झल्किएकाले सबैले मन पराईदिनुभयो ।’ हुन पनि यो गीत अचेल जिल्लाका विद्यालयसहित अन्य शुभकार्यहरुमा ‘सिन्धु–गीत’बनेर गुञ्जिने गरेको छ ।
गीतले सिन्धुको विकास बोलेको छ । सापकोटा यो गीतको भावलाई नेता तथा सिन्धु विकासका अभियन्ताहरुले अनुशरण गरे भने भाषणको जरुरी नभएको तर्क राख्छन् । ‘जिल्लाका नेताहरुले गीतले बोलेको भाव कसैले पूरा गरेका छैनन्,’ उनी भन्छन्, ‘गीतको आग्रही भावलाई पालना गरे जिल्लाको विकास हुन्छ ।’ उनी जिल्लाको विकासमा सरोकार राख्नेहरुले यो गीतलाई एकपटक गहिरिएर सुन्नुपर्ने जिकिर गर्छन् ।
महोत्सवका आयोजकले आग्रह गरेर सापकोटाले तयार पारेको यो गीतले वास्तवमै सिन्धुको विकास र सम्भावनालाई उजागर गरेको छ । जिल्लामा भएको पर्यटन, कृषि, जलस्रोत, व्यापारको खानीबाट हुनसक्ने आर्थिक समृद्धिको ढोकालाई खुलाईदिएको छ । वास्तवमै भन्नुपर्दा सिन्धुवासीको गौरवका लागि गरिएको महोत्सवको प्रमुख उपलब्धी यो गीतमात्रै बनेको छ । सापकोटा महोत्सवले गरेका प्रतिबद्धताहरु पूर्ण रुपमा कार्यान्वयन नभएकोमा दुखेसो पोख्छन् ।
आमा दीपकुमारी सापकोटा र पिता गोविन्दप्रसादको कोखबाट जन्मिएका उनले बतासेमा रहेको तत्कालीन कालिका प्राविबाट औपचारिक अध्ययन सुरु गरेका थिए । शैशवकालदेखि नै गीतसंगीतप्रति लगाव राख्ने उनी गाउँका वनपाखामा गाउने गीतले नै आकर्षित गरेको बताउँछन् । विद्यालयस्तरदेखि नै गीत गाउन थालेका उनले ५० भन्दा बढी नेपाली चलचित्र र आधा दर्जन टेलिश्रृृंखलामा स्वर र शीर्षसंगीत दिइसकेका छन् । चलचित्र दादागिरीको तिम्रो आँखामा बस्ने रहर भो मलाई...बाट नेपाली चलचित्रमा स्वर दिन सुरु गरेका उनले अजम्बरी नाता, निखिल दाई, अभिमन्यू, दोस्तीलगायतमा स्वर र संगीत भरिसकेका छन् ।
गीत÷संगीतकै दौरानमा नेपालका सबै जिल्ला घुमेर सबै ठाउँका स्रोतालाई आफ्नो कला प्रस्तुत गरिसकेका उनले २ सय भन्दा बढी स्थानमा ‘स्टेज प्रोगाम’ दिइसकेका छन् । सामाजिक परिवर्तनका लागि चेतनामूलक गीत गाउन रुचाउने सापकोटा आफू व्यवसायिक कलाकार भएकाले जसलाई जस्तो चाहिन्छ त्यस्तै संगीत गर्न सक्ने दावी गर्छन् । ‘म किसान हुँ, जे पनि उत्पादन गर्न सक्छु,’ उनले आफ्नो क्षमता सुनाउँदै भने ।
गीतले आफ्नो माटोलाई छुन पर्ने तर्क राख्दै उनी गीत÷संगीत आम जनजीवनलाई छुने हुनुपर्ने बताउँछन् । ‘लोक शैलीमा माटो सुहाउँदो गीत हुन जरुरी छ ।’ उनी भन्छन्, ‘गीत सरल हुनुपर्छ ताकि सबैको ओठमा गुन्गुनाओस् ।’ जिल्लामा गीत÷संगीतको बजार साँघुरो भएकोमा उनी चिन्ता व्यक्त गर्छन् । फिल्म लाग्ने हल नभएकाले यहाँका स्रोताले गीत संगीत सुन्न नपाउने गरेको विडम्बना उनले सुनाए । उनी जिल्लाका स्रोतालाई गीत सुनाउनका लागि सदरमुकाममा एउटा चलचित्र हल बनाउन कोही व्यवसायीलाई आग्रह गर्छन् । ‘चलचित्रमा बजेको गीत सुनेर नयाँ पुस्ताले केही सिक्ने अवसर पाउँछन्,’ उनले भने, ‘सदरमुकाममा स्टेज प्रोगाम पनि गर्न मिल्ने र फिल्म चलाउन पनि मिल्ने हलको जरुरी छ ।’ सापकोटा कोही व्यवसायी अगाडि सरेर आए आफ्नो जिल्लाका लागि हल निर्माणमा सहयोग गर्ने बताउँछन् । ‘हल निर्माणका लागि म आफै कुर्सी र केही प्राविधिक सामग्रीहरु दिन सक्छु,’ उनले व्यवसायीलाई आग्रह गर्दै भने ।
नेपाली संगीतलाई उचाईंमा पु¥याउन तल्लीन सिन्धुपुत्र सापकोटा टेलिभिजनबाट प्रशारित हुने धेरैजसो हाँस्यश्रृंखलाका शीर्ष संगीत बनाएर र स्वर दिएर पनि चर्चामा छन् । हालै ११ वर्षमा प्रवेश गरेको चर्चित हाँस्यश्रृंखला तितो सत्यको शीर्ष गीतबाट पनि उनले स्रोताको वाही–वाही बटुलेका छन् । झिल्के कान्छाको शीर्ष गीत सुनेर प्रभावित बनेका तितोसत्य टिमले उनलाई गीत बनाइदिन आग्रह गरेको उनी बताउँछन् । ‘उदितनारायणको जस्तै स्वर भनेर प्रशंसा गर्दै मलाई गीत गाउन तितोसत्य टिमले आग्रह ग¥यो,’ उनले विगतका दिन सम्झँदै भने, ‘निर्मलजीको क्याफेमा कफि खाने क्रममा उनीहरुले मलाई शीर्ष संगीतका लागि आग्रह गरेका थिए ।’ संगीतमा स्नातक गरेका सापकोटाले तितोसत्यको टिमको आग्रहलाई स्वीकार्दै गीत आग्रह गरेको भोलिपल्टै सुनाएका थिए । सबैलाई मिल्ने गरि शब्दका केही अंश लेखेर एरेन्ज गरेका उनले पछि पूरै गीत दयाराम पाण्डेलाई लेख्न लगाएका थिए । तितो सत्य दस वर्ष पुगेर एघार वर्षमा प्रवेश गरेपछि त्यसको प्रोमो फेरिएको छ । अहिले चेतनकै संगीतमा प्रमोद खरेलले यसको शीर्ष गीत गाएका छन् ।
तितोसत्यको शीर्ष गीतको लोकप्रियताकै कारण नेपाली फिल्म उद्योगमा मौका पाएको उनी स्वीकार्छन् । तितो सत्यको चार भागसम्म संगीतको उस्ताज बनेर पर्दामासमेत देखिएका उनले संगीतका स्रोता जताततै भएपनि सहरभन्दा बढी गाउँमा माया पाउने गरेको सुनाए । ललित कला क्याम्पसमा संगीतमा स्नातक गरिसकेपछि शास्त्रीय संगीतका लागि भारत पुगेका उनले त्यहाँ पनि स्नातक गरे । कल्पवृक्ष, बदनामलगायत आधा दर्जनबढी सोलो एल्बम निकालेका उनले दर्जनबढी फुटकर एल्बममा गीत गाइसकेका उनले प्रयाग संगीत समिति इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक गरेका छन् ।
नेपालमा पछिल्लो समय स्रष्टालाई निधनपछि मात्र सम्मान गर्ने चलन बढेको छ । मृत्युपछि मात्र स्रष्टाको चर्चा हुने गर्दछ । सापकोटा यसको विरोधि हुन् । ‘स्रष्टाले बाँचुन्जेल नेपाली समाजको हितका लागि काम गरेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसको प्रतिफल उसले बाँचेकै बेला पाउनुपर्छ ।’ नेपालमा प्रतिभाका लागि बाँडिने पुरस्कारमा उनी राजनीति हावी हुने गरेको आरोप लगाउँछन् । संगीतकै उत्थानका लागि २०५२ सालदेखि संघर्षरत सापकोटा स्रोता, दर्शकको माया नै अवार्ड मान्छन् ।
तितोसत्यको शीर्ष गीतको सफलतापछि उनले जिरे खुर्सानी, मेरी बास्सैमा पनि शीर्ष संगीत गरे । टेलिश्रंखलामा गीत गाउनु र चलचित्रमा गाउनु उनी फरक सोच्छन् । ‘टेलिश्रृंखला हप्तैपिच्छे आउँछ, चलचित्रमा एकचोटी मात्र गाइन्छ,’ उनी भन्छन्, ‘गाउँमा श्रृंखला हेर्ने बढी हुने र त्यसको प्रभाव पर्ने भएकाले गाउँका स्रोताको बढी माया पाइन्छ ।’ संगीत उद्योगमा संघर्षविना सफलता नपाइने उनको अनुभव छ । सबैभन्दा ठूलो आफ्नो मनलाई मनाउनुपर्ने उनी बताउँछन् । ‘सबैभन्दा ठूलो आत्मसंघर्ष हो,’ उनी भन्छन्, ‘मैले यस्तो गर्छु भनेर अठोट नलिइकन काम गर्न हुँदैन ।’ उनी मनलाई जितियो भने देश जित्न सक्ने आँट आउने बताउँछन् ।
नेपालका चर्चित हाँस्य कलाकारहरुको चर्चित सिरियलमा काम गरेर थप अनुभव संगालेका उनले जिरे खुर्सानीको शीर्ष गीतलाई एकै दिनमा तयार गरेका थिए । यो उनको जीवनकै सबैभन्दा छोटो समयमा तयार गरेको गीत हो । ‘घरायसी समस्याका कारण समय थिएन,’ उनले त्यो क्षण सम्झँदै भने, ‘मलाई छिट्टै तयार गरिदिन आग्रह गरेका थिए, अनि मैले गरिदिएँ पनि ।’ हाँस्यश्रृंखलाकै कारण उनी यति चर्चामा आएको बताउँछन् । उनको अनुभवमा मेरी बाँस्सैको शीर्ष गीत उनलाई मनपर्ने र सर्वाधिक रुचाइएको गीत हो ।
प्रस्तुति ; किशोर बुढाथोकी www.facebook.com/kishmapari

No comments:

Post a Comment