दुई वर्षदेखि जलवीर बजारकी स्रष्टा सवी श्रेष्ठ बेलायतमा छिन् । विशेषगरी निबन्ध र कथा विधामा कलम चलाउने उनी बेलायतबाटै सिन्धु साहित्यलाई उचाईंमा पु¥याउन तल्लीन छिन् । अध्ययन र रोजगारीको सिलसिलामा त्यहाँ पुगेकी उनी प्रायः राति सुत्ने बेलामा साहित्य कोर्ने गर्छिन् ।
उनी बेलायतमा हेल्थ केयर असिस्टेनटका कार्यरत छिन् । विदेश रहँदा आफ्नो जन्मभूमिको मूल्य थाहा पाएको अनुभव सुनाउने उनी खासगरी आफ्नै देशको माटोलाई आधार बनाएर साहित्य कोर्ने गरेको बताउँछिन् ।
पराइ भूमिमा रहँदा आफ्नो कर्मभूमिलाई नसम्झने अपवादमा मात्र होलान् । सवी बेलायतको रंगीन सहरमा रहँदासमेत आफ्नो आमाको सबै भन्दाबढी याद आउने बताउँछिन् । कामको व्यस्ताले त्यता हुने साहित्यिक कार्यक्रममा उनी त्यति सहभागिता जनाउँदिनन् । तर, सिन्धु साहित्यको उत्थानका लागि भने उनी क्रियाशील प्रवासी साहित्यकार हुन् । नेपालमै बसेर साहित्य साधनामा लाग्ने इच्छा हुँदाहुँदै पनि प्रवासिनु तितो यथार्थ भएको स्वीकार्दै उनले आखरेनीसँग भनिन्, ‘विदेशिनु बाध्यता हो । नेपालमै यहाँको जस्तो अवसर भएको भए कमाउनकै लागि कोही बाहिरिनु पर्दैनथ्यो ।’ श्रेष्ठ विदेश रहँदाको अनुभव र भोगाइले बढी साहित्य लेखनमा आकर्षित गरेको बताउँछिन् ।
२००७ जनवरीदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका भोटसिपाका २३ वर्षीय इन्द्रमणि नेपाल अझै उतै छन् । उनी कतारको अलखोरस्थित प्रतिष्ठित कम्पनीमा कागजात व्यवस्थापनको काम गर्छन् । परिवारदेखि टाढा हुनुका अतिरिक्त आफ्ना ठाउँमा आउने अवसरबाट बञ्चित हुनु नै विदेश बस्नुको पीडा भएको बताउने उनलाई विदेशमा रहँदा आफ्नो परिवारको यादले सताउँछ । कतारको साहित्यिक माहोलमा रमाएका उनी कतारका क्रियाशील साहित्यकारहरुको पंक्तिमा पर्छन् । कतारस्थित नवोदित साहित्यिक मोबाइल पुस्तकालय र अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरमा रहेर साहित्यको विकासमा होमिएका नेपाल कार्यालय समयबाट फुर्सदिलो हुँदा र नेपालमा रहेका आफन्तहरुको सम्झना आउँदा साहित्य कोर्न थाल्छन् । मुलुकमा रोजगारीको अवसर नपाएर विदेशिएका उनी जीवनलाई संसारसँग नगरी नहुने युद्ध मान्छन् । कतारमै रहेर सिन्धु साहित्यको जगेर्नामासमेत पाइला चलेका उनी साहित्य विना जीवन अन्धकार हुने बताउँछन् । ‘साहित्य विनाको जीवन आत्मा विनाको शरिर जस्तै हो,’ उनले ओखरेनीसँग भने, ‘मानिसले कुनै न कुनै माध्यमबाट साहित्यलाई अंगालिरहेको हुन्छ । यसैद्वारा जीवनका हरेक पाइला अगाडी बढाइरहेका हुन्छन् ।’
कालिका–१ पुरानाकोटका हरिकृष्ण न्यौपाने पनि नौ वर्षदेखि कुवेतमा छन् । उनी पत्रकारितामा समेत क्रियाशील छन् । कुवेतमा रहेको क्यानडियन क्याफेमा सुपरभाइजरमा कार्यरत रहेका उनी आफ्नो जन्भमूमिको सँधै याद आइरहने बताउँछन् । ‘आफ्नो जन्मभूमि छाडेर विदेश बस्नु साह्रै पीडा हुन्छ,’ उनले भने, ‘विभिन्न चाड,पर्वहरुमा परिवारसँग छुट्टिनुपर्दा दुःख लाग्छ ।’ विदेशमा आफू विरामी हुँदा पाएको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उनी बताउँछन् ।
आफ्नो नियमित कामबाट फुर्सद पाएको बेला साहित्य र पत्रकारितालाई समय दिने न्यौपाने आफैँ सक्रिय भएर विभिन्न कविको जयन्तीको अवसर पारेर कार्यक्रमसमेत आयोजना गर्छन् । नेपाल पत्रकार महासंघ कुवेत शाखाको सचिवसमेत रहेका उनी मरुभूमिको कोसेली पत्रिकाका कार्यकारी सम्पादक, नेपाल कुवेत डट कमका सम्पादकसमेत हुन् । प्रायः एक्लो भएका बेला साहित्य सिर्जना गर्ने न्यौपाने धेरै दुःखी हुँदाको क्षणमा र आफन्तहरुको सम्झनाले विरक्त बनाएको बेला कविता कोर्छन् । विदेश रहँदा अन्य देशका नागरिकको इसारामा नाँच्नुपर्ने बाध्यताले हिनताबोध गराउने गरेको उनी सुनाउँछन् । ‘स्वदेशमा पर्याप्त स्रोत, साधनको कमीले नै हामीजस्ता युवा विदेशिन बाध्य छौं,’ उनले भने, ‘सुरुमा रहर भएपनि विभिन्न व्यवहारिक बाध्यताहरुकै कारण गुणस्तरीय जीवनयापनकै खातिर विदेश आएँ ।’ विदेश बस्नु यतिबेला रहर भन्दापनि बाध्यता र जिम्मेवारी भएको उनका अनुभूति छ ।
कतारस्थित नवोदित मोबाइल पुस्तकालय र सिन्धुपाल्चोक युवा सिर्जना समूहमा संलग्न रही निरन्तर साहित्य साधनामा लागेका साँगाचोक–९ पानीचौरका स्रष्टा विमल गिरी झण्डै ६ वर्षदेखि प्रवासी जीवन बिताइरहेका छन् । दोहास्थित एक प्रतिष्ठित कम्पनीका उनी एकोमोडेसन इञ्चार्ज हुन् । उनी २००८ जनवरीदेखि हालसम्म कतारमै छन् ।
देशकाल र परिस्थितिलाई सम्झेर विशेषगरी कविता र हाइकु विधामा कलम चलाउने गिरी प्रायः रातको समयमा सिर्जना कोर्छन् । ‘सिर्जना गर्दा देश प्रेमको गर्छु,’ उनले भने, ‘आफ्ना मनमा लागेका भावनालाई साहित्यमार्फत ओकल्न पाउँदा गर्व लाग्छ ।’ परदेशमा विरामी पर्दा र मरुभूमिबाट तातो हावा बहँदा परिवारको सम्झना धेरै आउने उनी बताउँछन् । अवसरको खोजीकै कारण विदेशिनु परेको बताउने उनी आफ्नो क्षमताअनुसार नेपालमा काम पाएको भए परदेश जानु नपर्ने तर्क गर्छन् ।परदेशमा रहेरपनि सिन्धु साहित्यलाई उचाईंमा पु¥याउनुपर्छ भन्ने उनी साहित्यलाई मनको वह पोख्ने माध्यम ठान्छन्् । कतारमा क्रियाशील साहित्यकारहरुले जगाएको माहोलले नै उनी अझै बढी साहित्य साधनामा लागेको स्वीकार्छन् ।
नेपालमा भएका घटनाक्रम, अन्याय, दमन र अत्याचारदेखि युद्ध र अस्थिरतासम्मका विषयलाई प्रमुख बनाएर साहित्य सिर्जना गर्ने साँगाचोक जल्केनीका स्रष्टा ध्रुवकुमार थापा आठ वर्षदेखि अफगानिस्तानमा छन् । मायाप्रेम तथा वियोग सम्वन्धी रचनाका साथै परदेशको बसाईँमा देश र जनताप्रति समर्पित सिर्जना बढी गर्ने उनी खुलाउँछन् ।
वैदेशिक रोजगारीको सिलसिलामा अनेक किसिमका कामको अनुभव संगालेका थापा अहिले इन्भेन्टोरी क्लर्कको काममा व्यस्त रहन्छन् । कामबाट फुर्सद नहुने भएकाले उनी बेलुका सुत्ने बेलामा लेख्ने गर्छन् । ‘मन बहलाउनको लागि साहित्य सिर्जना गरिरहेको छु’ उनले भने । विदेश बस्नुको पीडा र कुण्ठालाई बयान गरेर साध्य नै नहुने बताउने उनको गाँउघर र परिवारको यादमा मन भतभती पोल्ने गर्छ ।साहित्य गतिविधिमा हिँडेका पलहरु, चाडबाडमा गरेको रमाइलो, घाँसदाउरा र मेलापात गर्दाको क्षण र परिवारको धेरै याद सताउँछ उनलाई । देशमा रोजगारीको वातावरण भएको भए उनी विदेश पलायन हुने थिएनन् । ‘विदेश जानुको बाध्यता छ । त्यसमा बेरोजगारी पहिलो कारण हो,’ उनी भन्छन्, ‘जति संघर्ष गर्दा पनि स्वदेशमा रोजीरोटी गर्न नसकेपछि विदेशिएँ ।’ उनी स्वदेशमा शान्ति, सुरक्षा भएमा नेपालमा बस्ने निर्णय गरेको बताउँछन् ।
यी सिन्धुपाल्चोकमा जन्मेर रोजगारी या अध्ययनका क्रममा विदेशिएका केही प्रतिनिधि पात्र मात्र हुन् । साहित्यको गजल विधामा अब्बल मानिएकी चौताराकी नारी स्रष्टा सरु काली अहिले अमेरिकामा छिन् । त्यस्तै अर्का स्रष्टा पीपलडाँडाका सुरेश बुढाथोकी कतारमा छन् । डायस्पोरा साहित्यमार्फत उनीहरु सिन्धु साहित्यको विकासका लागि निरन्तर साधनामा लागिरहेका पात्र हुन् । त्यस्तै गजल विधाका सागर पराजुली संयूक्त अरव इमिरेट्सको आवुधावी सहरमा छन् । विशेषगरी कविता लेखनमा सक्रिय रहने प्रदीप न्यौपानेसमेत अहिले विदेशमा छन् । उनीहरु कामसँगै साहित्य साधनामा क्रियाशील छन् ।
प्रस्तुतिः किशोर बुढाथोकी
No comments:
Post a Comment